भारतीय अभिनेत्री मृणाल ठाकुर पछिल्लो समय आफ्नो व्यक्तिगत जीवन र प्रेम सम्बन्धका हल्लाका कारण बढी चर्चामा छिन्।
केही साताअघि दक्षिण भारतीय अभिनेता धनुषसँग उनको नाम जोडिएको थियो। हालै भने भारतीय क्रिकेटर श्रेयस अय्यरसँग उनी प्रेम सम्बन्धमा रहेको हल्ला फैलिएको छ। यी लगातारका हल्लाहरूबारे अन्ततः अभिनेत्रीले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकी छिन्।
आइतबार इन्स्टाग्राममा एक भिडिओ सेयर गर्दै मृणालले आफ्नो डेटिङ हल्लाबारे घुमाउरो शैलीमा जबाफ दिएकी छिन्।
आमासँग टाउको मालिस गराउँदै गरेको भिडिओ सार्वजनिक गर्दै उनले क्याप्सनमा लेखेकी छिन्, 'उनीहरू कुरा काट्छन्, हामी हाँस्छौँ। पुनश्चः हल्ला भनेको सित्तैको प्रचार हो र मलाई सित्तैका कुरा मन पर्छ।' यद्यपि उनले कसैको नाम नलिए पनि यो पोस्ट हालैका चर्चाप्रति लक्षित रहेको बुझन् सकिन्छ।
केही समयअघि रेडिटमा आएको एक पोस्टमा मृणाल र क्रिकेटर श्रेयस अय्यर केही महिनादेखि गुपचुप प्रेममा रहेको दाबी गरिएको थियो। क्रिकेट फ्यानहरूको दबाब र मृणालको करियरको महत्त्वपूर्ण समय भएकाले उनीहरूले सम्बन्धलाई गोप्य राखेको बताइएको थियो।
प्रतिक्रियाहरू (0)