होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

एमालेका सयौँ नेता–कार्यकर्ता काँग्रेसमा प्रवेश

लेखक
PalikaNews
श्रेणी
विविध
मिति
२०८२-११-१७
हेरिएको
741 पटक

 

धनकुटा, फागुन १७ गते । धनकुटा नगरपालिका–८ मा नेकपा एमालेसहित विभिन्न दलका करिब एक सय नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आइतबार टेकुनालामा आयोजित कार्यक्रममा उनीहरूले नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका जिल्ला सभापति दिनेश राई आठपहरियालाई विजयी गराउने प्रतिबद्धतासहित पार्टी प्रवेश गरेका हुन् ।

नवप्रवेश नेता तथा कार्यकर्तालाई नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य सुनिलबहादुर थापा, संविधान सभा सदस्य तथा पूर्व जिल्ला सभापति मनोहर नारायण श्रेष्ठ, जिल्ला उपसभापति सुनिल डङ्गोल, जिल्ला सचिव विजय सन्तोषी राई तथा वडाध्यक्ष धनकुमार राई र रोशेष श्रेष्ठलगायतले टीका लगाएर स्वागत गरेका थिए ।

लामो समयदेखि नेकपा एमालेमा सक्रिय रहँदै आएका रुजन राईसहितका नेता तथा कार्यकर्ताले वर्तमान राजनीतिक परिस्थिति र परिवर्तनशील माहौललाई ध्यानमा राख्दै काँग्रेस रोजेको बताएका छन् । उनीहरूले भदौ २२ र २३ गते भएको ‘जेन्जी आन्दोलन’पछि देशको राजनीति नयाँ ढङ्गले अघि बढेको उल्लेख गर्दै काँग्रेसले रूपान्तरणको मार्ग समातेको र सबैको भावना समेट्ने प्रयास गरेको दाबी गरे ।

पार्टी प्रवेशपछि बोल्दै नवप्रवेशीहरूले यस पटक पुरानै अनुहार दोहोर्‍याउने भन्दा पनि युवा नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राखे । “यो पटक युवा नेता दिनेश राई आठपहरियाको जित पक्का छ, अत्यधिक मतका साथ जिताउनेछौँ,” उनीहरूले भने ।

कार्यक्रममा बोल्दै काँग्रेस नेताहरूले पार्टीमा प्रवेश गर्नेहरूको योगदानको सम्मान गर्दै सङ्गठन सुदृढीकरणमा एकताबद्ध भएर अघि बढ्ने बताएका थिए । चुनाव नजिकिँदै जाँदा धनकुटामा दल परिवर्तन र राजनीतिक ध्रुवीकरणका गतिविधि बढिरहेका छन् ।

प्रतिक्रियाहरू (0)