काजीरत्न महर्जन भदौ २३ गते दिउँसो कामले जिल्ला अदालत ललितपुर पुगेका थिए।
ठ्याक्कै साढे दुई बजे थियो। उनी काम गर्दै थिए, बहिनीको फोन आयो।
'दाइ, भाइलाई गोली लाग्यो रे,' एक्कासि बहिनी कराइन्, 'एभरेस्ट अस्पताल लगेको छ रे, हामी छिट्टै जानुपर्यो!'
काजीरत्नलाई एकैपटक आकाशले थिचेजस्तै भयो। उनको आँखामा भाइको अनुहार फनन घुम्न थाल्यो।
काजीरत्नका भाइ हुन् विनोद महर्जन।
३४ वर्षीय विनोद जेनजी आन्दोलनमा सहिद भए।
विनोद घरका कान्छा छोरा हुन्। उनीहरू दुई दाइभाइ र तीन दिदीबहिनी छन्।
जेठा काजीरत्न बहिनीको कुरा सुनेर कामधाम छाडेर अदालतबाट दगुरे। बहिनी मंगलबजारमा थिइन्।
बहिनीले भाइको साथीको नम्बर मागेर राखेकी थिइन्। साथीलाई फोन गरेर उनीहरू हतारहतार अस्पतालतिर निस्किए। अस्पताल नपुग्दै भाइका साथीको फेरि फोन आयो।
'अस्पताल जाँदाजाँदै ऊ बितिसक्यो भन्ने खबर आयो,' ४७ वर्षीय काजीरत्नले भने।
अपराह्न चार नबज्दै उनीहरू अस्पताल पुगे।
'सामाजिक सञ्जालमा भिडिओ हेर्दा घटनास्थलमै मृत्यु भएको जस्तो लाग्छ,' उनले भने।
विनोदको शव त्यस दिन अस्पतालमै राखियो। अर्को दिन टिचिङ अस्पताल पठाइयो।
काजीरत्नलाई भने भाइ आन्दोलनमा गएको छ भन्ने जानकारी थिएन। काजीरत्नको बिहेपछि उनीहरू छुट्टै बस्न थालेका थिए।
विनोद आफ्नी आमा लतमायासँग ललितपुर महानगरपालिका वडा नम्बर ७ मा बस्थे भने काजीरत्न वडा नम्बर १५ मा बस्छन्।
विनोदले बिहे गरेका थिएनन्। ७५ वर्षीया आमाको हेरचाह गर्थे।
प्रतिक्रियाहरू (0)