धनकुटा, माघ १४ गते । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) धनकुटाका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रकुमार राईले जिल्लाको समग्र विकासका लागि विस्तृत प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ । बुधवार धनकुटामा पत्रकार सम्मेलन गरी उहाँले गाँजा खेतीलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्ने, निर्दोष नागरिकमाथि भएका मुद्दा पुनरावलोकन गरी रिहाका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
त्यस्तै राईले धरान–लेउती सुरुङ मार्ग निर्माणलाई प्राथमिकतामा राख्ने, प्रदेश सरकारसँग समन्वय गरी धनकुटामा शिक्षण अस्पताल निर्माण गर्ने तथा चौबिसे गाउँपालिका र महालक्ष्मी नगरपालिकालाई नमुना सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनु भएको छ । त्यस्तै कृषि उत्पादनको व्यवसायीकरण, प्रशोधन र बजारीकरणमा जोड दिने योजना सार्वजनिक गरिएको छ। धनकुटामा चिया, अलैँची, सुन्तला, किवी, कफी, ड्रागन फललगायत उच्च मूल्यका कृषि उपजको उत्पादन र बजार विस्तार गरिने जनाइएको छ ।
पर्यटन प्रवर्द्धनअन्तर्गत धनकुटा सदरमुकामको ऐतिहासिक टुँडिखेललाई आधुनिक स्वरूपमा विकास गर्ने, विभिन्न धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलहरूको पूर्वाधार विस्तार गर्ने योजना समेत उम्मेदवार राईले अघि सारेका छन्। नाम्चे झरना–नागे केबलकार, आधुनिक खेलमैदान, कोल्ड स्टोर निर्माण तथा अधुरा विकास परियोजना सम्पन्न गर्ने प्रतिबद्धता पनि समेटिएको छ। पत्रकार सम्मेलनमा बोल्दै राईले यी प्रतिबद्धता पुरा गर्न लागि पर्ने बताउनु भयो ।
प्रतिक्रियाहरू (0)