माघ, १८ धनकुटा । प्रचारप्रसारका गतिविधिलाई मर्यादित बनाउन धनकुटामा सर्बपक्षिय छलफल गरीएको छ । आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय धनकुटाले संयुक्त रूपमा आयोजना गरेको हो । छलफल कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले प्रचारप्रसारमा स्वदेशी नम्बर प्लेट भएका सवारीसाधन मात्रै प्रयोग गर्न पाइने जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको अनुमति लिएर अधिकतम दुई वटा गाडी र गाडी पुग्न नसक्ने दुर्गम क्षेत्रमा चार वटा घोडासम्म प्रयोग गर्न सकिने व्यवस्था जनाउनु भयो ।
धार्मिक आधारमा मतदाता संगठित गर्न, राष्ट्रिय झण्डाको दुरुपयोग गर्न तथा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउन कडाइका साथ रोक लगाइएको जनाइएको छ । प्रचार कार्यक्रम, कोणसभा र आमसभाबाट भएको खर्च १५ दिनभित्र आयोगमा बुझाउनु पर्नेछ । प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवारले अधिकतम ३१ लाख र समानुपातिकतर्फका उम्मेदवारले २ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था छ । २५ हजारभन्दा माथिको कारोबार बैंक खातामार्फत गर्नुपर्ने र निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्न प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले आग्रह गर्नु भयो ।
आचारसंहिता गम्भीर रूपमा उल्लंघन गरे जिल्ला आचारसंहिता अनुगमन समितिले एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी खारेजीसम्मको कारबाही गर्न सक्ने चेतावनी दिइएको छ । छलफलमा राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिले विभिन्न गुनासा र सुझाव राखेका थिए। नेपाली काँग्रेसका मनोहर नारायण श्रेष्ठले सबै १७ जना उम्मेदवारले साझा एजेन्डा बनाएर जिल्लाका मुद्दा उठाउन माग गर्नु भयो । माओवादीका विशाल सीले सामाजिक सञ्जालमा पैसासँग भोट जोड्ने सन्देशप्रति असन्तुष्टि जनाउनु भयो ।
मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले देखिएका समस्या समाधानका लागि आयोग सधैं समन्वयमा रहने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी खड्काले दलबलसहित घरदैलो र प्रचारप्रसारमा अहिले नै ननिस्कन आग्रह गर्दै फागुन ४ गतेपछि मात्रै त्यस्ता गतिविधि गर्न पाइने जानकारी दिनुभयो । साथै स्थानीय तहबाट हुने वितरणमुखी कार्यक्रम समेत रोक लगाइने जनाउनुभयो ।
प्रतिक्रियाहरू (0)