धनकुटा, फागुन ७ गते ।। नेपाली काङ्ग्रेस धनकुटाले आगामी निर्वाचनलाई लक्षित गर्दै घोषणा पत्र सार्वजनिक गरेको छ। नेपाली काङ्ग्रेस निर्वाचन मूल प्रचारप्रसार समिति धनकुटाले धनकुटास्थित पत्रकार महासङ्घको हलमा आयोजित पत्रकार सम्मेलनमार्फत घोषणा पत्र सार्वजनिक गरिएको हो। कार्यक्रममा नेपाली काङ्ग्रेस धनकुटाका उम्मेदवार दिनेश राईले धनकुटा–हिले–उत्तरपानी–पाख्रीबास–सिधुवा क्षेत्रलाई समेटेर बृहत् नगर निर्माण गर्ने मुख्य सङ्कल्प प्रस्तुत गरिएको बताउनु भयो । उहाँले हरेक निर्वाचनमा एउटै प्रतिबद्धता दोहोर्याएर मत माग्ने चलन अब बन्द हुनुपर्ने उल्लेख गर्दै यस पटकको घोषणा पत्रलाई धनकुटा विकासको स्पष्ट खाकाका रूपमा लिनुपर्ने धारणा राख्नु भयो ।
नेपाली काङ्ग्रेस धनकुटाले सार्वजनिक गरिएको सङ्कल्प सूचीमा धनकुटा–हिले–पाख्रीबास–उत्तरपानी–सिधुवा समेटेर बृहत् नगर निर्माण, पर्यटन प्रवर्द्धनका लागि हिमाल घर निर्माण, कोसी राजमार्गको २५ मिटर मापदण्ड पुनरावलोकन, एक पालिका–एक रङ्गशाला, बाँदर तथा जङ्गली जनावर नियन्त्रण, गाँजा खेती वैधानिक करण पहल, कोखदेखि शोकसम्म सेवा सुनिश्चित जस्ता कार्यक्रम समावेश छन्।
त्यसै गरी आठपहरिया जाति सूचीकरण पहल, धनकुटामा लगानी भित्र्याउने योजना, व्यवस्थित सहर र उर्वर गाउँ अभियान, धरान–लेउती सुरुङ मार्ग निर्माण तथा राजारानी खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रङ्गशालाका रूपमा विकास गर्ने लक्ष्य पनि घोषणा पत्रमा उल्लेख गरिएको छ।
उम्मेदवार राईका अनुसार कृषि उत्पादनको मूल्य किसान अनुकूल बनाउने, बजार पहुँच विस्तार गर्ने तथा उत्पादनमैत्री नीति ल्याइनेछ। धनकुटाको समग्र विकासका लागि पर्यटनलाई मुख्य आधार मानेर अगाडि बढ्ने र प्राविधिक शिक्षामा विशेष जोड दिइने उनले बताए।
धनकुटालाई शिक्षा, स्वास्थ्य र पर्यटनको हबका रूपमा विकास गर्ने लक्ष्यसहित योजना अघि सारिएको उल्लेख गर्दै उनले पूर्वी पहाडको मुख्य भागमा अवस्थित धनकुटा सम्भावनाले भरिपूर्ण क्षेत्र भएकाले यसको प्रभावकारी सदुपयोग गर्न आवश्यक रहेको बताउनु भयो ।
प्रतिक्रियाहरू (0)