धनकुटा, फागुन ९ गते । जनता समाजवादी पाटी नेपाल धनकुटाका उम्मेदवार आइतराज लिम्बुले कृषि आधुनिकीकरणदेखि उद्योग, शिक्षा र पूर्वाधार विकाससम्मका योजना समावेश गरी आफ्नो घोषणा पत्र सार्वजनिक गर्नुभएको छ । शनिवार धनकुटामा पत्रकार सम्मेलन गर्दै उहाँले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणमार्फत किसानको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । बाँदर, बँदेललगायत वन्यजन्तुबाट हुने बाली नोक्सानी रोक्न कानुनी नियन्त्रणको व्यवस्था गरिने बताइएको छ ।
त्यस्तै खेलकुद तथा पर्यटन प्रवर्द्धनका लागि जिल्लामा प्याराग्लाइडिङ, रक क्लाइम्बिङ जस्ता साहसिक खेल सञ्चालन गर्ने तथा प्रत्येक पालिकामा व्यवस्थित खेलमैदान निर्माण गर्ने योजना अघि सारिएको छ । उद्योगतर्फ स्थानीय सीप र स्रोतमा आधारित औद्योगिक ग्राम स्थापना गरी स्वरोजगारको वातावरण बनाउने, १०० शय्याको मेडिकल कलेज स्थापना, १ हजार सिट क्षमताको सभा हल निर्माण तथा धनकुटालाई शिक्षाको केन्द्रका रूपमा विकास गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।
राजनीतिक, पूर्वाधार, पर्यटन, सांस्कृतिक संरक्षण, खानेपानी, सिँचाइ तथा कृषि विकासलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नु भयो । त्यस्तै धनकुटाको समग्र विकासका लागि सङ्घीय नीति निर्माण तहमा प्रभावकारी भूमिका निर्वाह गर्ने उल्लेख गर्दै कोसी प्रदेशको नामकरण, पहिचानका मुद्दा, स्थानीय जातीय तथा भाषिक समुदायको अधिकार र संरक्षणका विषयलाई उठाउने प्रतिबद्धता गरिएको छ । किराँत–आठपहरिया समुदायको ऐतिहासिक थातथलो संरक्षण, भाषा प्रवर्द्धन तथा सांस्कृतिक क्षेत्रको विकासका कार्यक्रम अघि सारिएको छ । जनता समाजवादी पाटी नेपाल समानुपातिक उम्मेदवार रकम चेम्जोङले समग्र धनकुटाको विकासको लागी यी योजना घिसारिएको बताउनु भयो ।
प्रतिक्रियाहरू (0)