धनकुटा, माघ १० गते । चुनाव नजिकिए सँगै धनकुटाको मुगामा उम्मेदवारको आऊ जाऊ बाक्लिँदो छ । आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि मुगाली मतदातालाई फकाउन उम्मेदवार पालैपालो मुगामा चुनावी अभियान र घरदैलो गर्दै पुग्ने गरेका छन् । मुगाको समस्यालाई आधार बनाइ भोट माग्ने गरेका छन् । तर मुगालाई न उम्मेदवार सँग कुनै आसा छ न चुनाव सँग विश्वास नै छ ।
धनकुटाको मुगा पूर्व प्रधानमन्त्री स्व. सूर्य बहादुर थापाको जन्म गाउँ हो । २०६४ साल यता तत्कालीन मुगा गाविस वाटै संविधानसभा तथा प्रतिनिधि सभामा प्रतिनिधित्व भए पनि विकासमा नहुँदा मुगा धेरै पछि परेको मुगाली जनताको बुझाई छ । राजनितिक रुपमा मुगा धनकुटा जिल्ला मात्र नभई नेपालकै अगाडी रहे पनि विकास, स्वास्थ्य शिक्षा लगायतको कुरामा धेरै पछि परेको पाख्रिवास नगरपालिका वडा नम्बर ८ मुगाका सूर्य राई बताउनु हुन्छ । यो चुनाव र अहिलेका उम्मेदवारले जितेर गए पनि मुगाका लागी केही गर्छन् कि भन्ने आसामा आफूहरू नरहेको उहाँको भनाई छ ।
मुगाले अहिले पनि धनकुटाको राजनीतिमा निकै पहुँच राख्छन् । तत्कालीन मुगा गाविसलाई आधार मान्ने हो भने २०६४ साल यताका संविधान सभा तथा प्रतिनिधि सभामा निर्वाचनमा यही क्षेत्रले धनकुटाको प्रतिनिधित्व गर्दै आएको छ । संविधान सभा तथा प्रतिनिधि सभामा निर्वाचित सुनिल बहादुर थापा तथा राजेन्द्र राई यही क्षेत्र वाटै प्रतिनिधित्व गरी रहनु भएको छ । राजेन्द्र राईले दुई पटक प्रतिनिधिसभामा विजयी भइसक्नु भएको छ । त्यस्तै सुनिल बहादुर थापा भर्खरै मात्र राष्ट्रिय सभामा निर्वाचित हुनु भएको छ । कोसी प्रदेश सभा सदश्य इन्दिरा थापा पनि मुगा वाटै हुनुहुन्छ । अहिले पनि जिल्लाको राजनीतिमा प्रत्येक दलमा मुगाकै वर्चस्व छ । नेपाली काँग्रेसको नेता सुनिल बहादुर थापा, इन्दिरा थापा, राप्रपाका नेता कुमार थापा जसपाका अर्जुन थापा स्थान वाट हुनुहुन्छ ।
पटक पटक यही क्षेत्रका उम्मेदवार विजयी भए पनि उहाँहरुले विकासको लागि कुनै चासो नदिएको स्थानिय टेक बहादुर राई गुनासो गर्नु हुन्छ । सूर्य बहादुर थापाको पालामा त्यो बेलाको गोरेटो घोरेटो, मठमन्दिर, खानेपानी, आदिको राम्रो विकास भए पनि त्यस पछि भने मुगाले विकास देख्न नपाएको स्थानीय चन्द्रमणि घिमिरे बताउनु हुन्छ । “थापा काजीको पालामा त्यो बेलाको विकास भरपुर भएको हो, त्यो बेला सडकका कुरा थिएनन् गोरेटो घोरेटोको कुरा हो त्यो धेरै राम्रो थियो” घिमिरे भन्नु हुन्छ । अहिले चैँ मुगा विकासमा पछि परेको छ उहाँ थप्नु हुन्छ ।
राजनीतिमा अगाडि, विकासमा पछि
त्यसो त अहिले पनि मुगाका धेरै स्थान स्वास्थ्य, शिक्षा, सडक पहुँच वाट निक्कै टाढा छ । रोजगारी र सुविधाको खोजीमा बसाई सर्नेको लर्को पनि उत्तिकै छ । पहिले धेरै नै चहलपहल हुने मुगा अहिले प्राय सुनसान हुन्छ । करिब ३ दशक अघि ट्र्याक खोलिएको पाख्रिवास मुगा सुनवालुवा सडक अहिले सम्म कालोपत्रे हुने सकेको छैन । मुगावासीले हिउँदमा धुलो र बर्खामा हिलोको सामना गर्नु त पर्छ नै बर्खाको समयमा बिरामी पर्दा एम्बुलेन्स गाउँ पुग्ने अवस्था छैन बिरामी बोकेरै पाख्रिवास निकाल्नु पर्ने अवस्था रहेको स्थानीय थाम बहादुर राई बताउनु हुन्छ । उर्वर भूमि छ तर खेतीपालिको लागि बर्खाको पानीमा भर पर्नु पर्ने अवस्था छ । खानेपानीको समेत अवस्था निक्कै नाजुक छ । तथा सिचाइको लागि आवश्यक पर्ने पानीको अभाव छ । माध्यमिक सम्मको शिक्षा गाउँमा भए पनि गुणस्तरीय नहुनु तथा उच्च शिक्षाको लागि गाउँ वाट बाहिरी नै पर्ने अवस्था रहेको राईको भनाई छ । सामान्य उपचारकै लागि पनि सदरमुकाम धाउनुपर्ने अवस्था छ ।
नेताहरू चुनावको बेला यिनै विषय उठान गरी भोट माग्न आउने तर जितेर गएपछि जनताका सुख दुख वाट टाढा हुने गरेको आरोप उनीहरूको छ । धनकुटाका धेरै नेता जन्माएको गाउँ समेत यही हो । तर यहाँ स्वास्थ्य, शिक्षा, सडक पहुँच सहित जीविकोपार्जन र रोजगारीको विषय जहिले ओझेलमा पर्ने गरेका स्थानीय मान बहादुर राई बताउनु हुन्छ । अब जितेर जानेले मुगाका यी नै विषयलाई आफ्नो प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाई छ ।
प्रतिक्रियाहरू (0)