धनकुटा, फागुन १२ गते । निर्वाचन कार्यालय धनकुटाले जिल्ला स्थित सञ्चारकर्मी सँग निर्वाचन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा कार्यालयका प्रमुख माधव अधिकारीले हालसम्म सम्पन्न भएका तयारीका कामबारे जानकारी गराउँदै जिल्लामा आवश्यक सबै निर्वाचन सामग्री आइपुगेको बताउनु भयो ।
उहाँका अनुसार मतपत्र लगायत सम्पूर्ण निर्वाचन सामग्री सुरक्षित रूपमा तयारी अवस्थामा राखिएको छ । साथै मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको, आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको र मतदान केन्द्रहरूको अनुगमन कार्य तीव्र रूपमा भइरहेको जानकारी दिँदै उनले जिल्ला निर्वाचन गराउन पूर्ण रूपमा तयार रहेको उल्लेख गर्नु भयो ।
निर्वाचन अनुगमन अधिकृत तथा धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मी ले आचारसंहिताको प्रभावकारी अनुगमन तथा प्राप्त गुनासा–उजुरीहरूको कार्यान्वयन भइरहेको बताउनु भयो । उहाँले मतदानको महत्वबारे जानकारी गराउँदै महिला–पुरुष, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा गर्भवती महिलालाई लाइनमा बस्न नपर्ने व्यवस्था गरिएको स्पष्ट पर्नुभयो । साथै मतदाता परिचयपत्र नभएका मतदाताले सरकारले उपलब्ध गराएका फोटोसहितका अन्य परिचयपत्रका आधारमा पनि मतदान गर्न सक्ने जानकारी दिनुभयो ।
कार्यक्रममा धनकुटाका मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले सञ्चारकर्मीलाई रिपोर्टिङको क्रममा असहज परिस्थिति आउन नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यस्तै धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले निर्वाचनमा सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रियाहरू (0)