धनकुटा, फागुन १८ गते । धनकुटाका सबै मतदान केन्द्रमा कर्मचारी तथा निर्वाचन सामाग्री पुगेको छ । जिल्लामा रहेका ११९ मतदान स्थलका १६६ मतदान केन्द्रमै सोमवार कर्मचारी र निर्वाचन सामाग्री पुगेका निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । मतदान केन्द्र पुगेर सोमवार नै अनुसूची ३, ४, ६ र ७ गरी ४ वटा अनुसूची टाँस गरिएको निर्वाचन कार्यालय धनकुटा सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो । अनुसूची ३ मा मतदान केन्द्रको चार किल्ला निर्धारण, ४ मा मौन अवधि प्रचारप्रसार रोक, ६ मा मादक पदार्थ प्रयोग तथा सेवन निषेध र अनुसूची ७ मा हात हतियार निषेध रहेको छ । केन्द्रमा मतदान अधिकृत सहायक मतदान अधिकृत सहित ६ कर्मचारी खटाइएको छ । जिल्लाका १६६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्रमा गरी कुद १ हजार दुई कर्मचारी खटाइएको धनकुटाका मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले जानकारी दिनुभयो । निर्वाचन सुरक्षार्थ सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ९ सय ८९ जना निर्वाचन प्रहरी पनि सोमवार वाटै खटिएका छन् । धनकुटामा यो निर्वाचनमा १ लाख १८ हजार ४२५ मतदाताले आगामी पाँच वर्षको लागि प्रतिनिधिसभामा आफ्नो आवाज बोल्ने प्रतिनिधि चुन्ने छन् । धनकुटामा १४ राजनीतिक दल र ३ स्वतन्त्र गरी कुल १७ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
प्रतिक्रियाहरू (0)