धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको उपचारका क्रममा निधन भएको छ । आन्द्रामा क्यान्सर देखिएपछि लामो समयदेखि उपचाररत ५५ वर्षीय लिम्बूको भारतको नयाँ दिल्लीस्थित अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुसार लिम्बू केही महिनादेखि क्यान्सर उपचारका लागि भारतमा हुनुहुन्थ्यो । पारिवारिक स्रोतका अनुसार लिम्बूको पार्थिव शरीर अन्तिम संस्कारका लागि धनकुटाको खुवाफोक ल्याउने तयारी भइरहेको छ । लिम्बूको निधनप्रति गाउँपालिकाले गहिरो दुःख व्यक्त गर्दै आज गाउँपालिकाभर शोक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो । सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय लिम्बू स्थानीय तहको विकास, सेवा प्रवाह तथा समुदायका समस्याको समाधानमा निरन्तर लागिपरेका व्यक्तित्वका रूपमा परिचित थिए। उनको निधनले साँगुरीगढी गाउँपालिका–३ मात्र होइन, समग्र गाउँपालिकालाई नै अपूरणीय क्षति पुगेको अध्यक्ष राईले बताउनु भएको छ ।
प्रतिक्रियाहरू (0)